विश्व हिन्दू परिषद् नेपालद्वारा सामूहिक विवाह समारोह र अलौकिक कन्यापूजन कार्यक्रम सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, December 21, 2020

विश्व हिन्दू परिषद् नेपालद्वारा सामूहिक विवाह समारोह र अलौकिक कन्यापूजन कार्यक्रम सम्पन्न


राम जानकी विवाह उत्सवको शुभ अवसरमा जनकपुरधाम स्थित जानकी मन्दिरको प्राङ्गणमा विश्व हिन्दु परिषद् नेपाल जिल्ला कार्य समिति धनुषाको आयोजना तथा व्यवस्थापनमा ११ जोडीलाई सामुहिक आदर्श विवाह गराइएको छ ।

विवाहको नाममा लिने दाईजो (दहेज) प्रथालाई चुनौति दिँदै ती जोडीहरुलाई आदर्श विवाह गरिएको हो । प्रत्येक जोडीको लागि छुटाछुट्टै मण्डप अर्थात मडबा बेदी बनाइएको जनाइएको छ । सामुहिक विवाहको लागि जनकपुरका सहयोगी हातहरुले सहयोग गरेको हो । विश्व हिन्दु परिषद् नेपालका धनुषा जिल्ला अध्यक्षका अनुसार, जन्तीको खानपान, बेहुलाबेहुलीको लुगाफाटो, सरसमान, बेहुलीलाई सुनको मंगलसुत्र सबै सहयोगी हातहरु खोजेर जुटाइएको हो । बाजागाजा सहित रथमा सबार भई दुलहा एवं जन्तीले नगर परिक्रमा समेत गरेका थिए ।

पौष ५ गते विश्व हिन्दु परिषद् नेपालले गरेको सामुहिक विवाहको आह्वानमा तराई मधेशको विभिन्न जिल्लाका बेहुला बेहुली पक्षले विवाहको लागि फारम भरेका थिए । कानुन अनुसार बेहुला बेहुलीको विवाह गर्ने उमेर पुगेको हुनु पर्ने शर्त राखिएकोले २० वर्ष माथिका बेहुलाबेहुलीहरुको अभिभावकले फाराम भरेको थियो । आवेदन फाराममा वर र बधुको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको थियो ।

गत वर्ष १०८ जोडी बरबधुको सामूहिक विवाह गराईएता पनि यस वर्ष कोरोना महामारीको प्रकोपका कारण ११ जोडीको विवाह मात्र गराउन सकिएको हो । नव विवाहित बरबधुलाई जानकी मन्दिरका छोटे महन्थ श्री राम रोशन दास बैष्णव लगायतका विशिष्ट व्यक्तित्वहरुले आशिर्वाद दिनु भएको थियो । कार्यक्रममा भारतबाट विश्व हिन्दू परिषदका केन्द्रिय मन्त्री श्री राजेन्द्र सिंह पंकज ज्यूको विशेष उपस्थिति रहेको थियो ।

त्यस्तै पौष २ गते परिषद्ले अलौकिक कन्यापूजन कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा १०८ कन्याहरु (बालिका) को सहभागिता रहेको थियो । विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित अलौकिक कन्या पूजन कार्यक्रम एवं सामूहिक विवाह समारोहको मुख्य उद्देश्य समाजमा व्याप्त महिला हिँसा, भ्रुण हत्या एवं दाईजो प्रथा जस्ता कुरितीहरु उन्मूलन गरी समरस एवं सभ्य समाज निर्माण गर्नु रहेको छ । राष्ट्र, धर्म र समाजहीतका लागि विश्व हिन्दू परिषद नेपालले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने परिषदका एक अधिकारीले जानकारी दिनु भयो ।