विहिपका अन्तराष्ट्रिय महामन्त्री माननीय मिलिन्द पराण्डेज्यूको नेपाल प्रवास - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Friday, April 30, 2021

विहिपका अन्तराष्ट्रिय महामन्त्री माननीय मिलिन्द पराण्डेज्यूको नेपाल प्रवास


विश्व हिन्दू परिषदको अन्तर्राष्ट्रिय महामन्त्री माननीय मिलिन्द पराण्डेज्यूको आठ दिवसीय नेपाल प्रवास सम्पन्न भएको छ । माननीय मिलिन्द पराण्डेज्यूको नेपाल प्रवास बैशाख ६ गते देखि १४ गते सम्म निर्धारण गरिएता पनि विशेष परिस्थितिका कारण बैशाख १३ गते नै वहाँ भारत फिर्ता हुनु भएको थियो । बैशाख ६ गते विराटनगरबाट शुरुवात भएको वहाँको नेपाल प्रवास १३ गते भैरहवाबाट समाप्त भएको थियो ।

माननीय मिलिन्द पराण्डेज्यूको नेपाल प्रवासको अवसरमा विराट नगर, लहान, जनकपुर, विरगंज, काठमाण्डौ एवं भैरहवामा कार्यक्रमहरु आयोजना गरिएको थियो । कार्यक्रमहरु यस प्रकार रहेको थियो ।

विराटनगरमा आयोजित कार्यक्रम


माननीय मिलिन्द पराण्डे ज्यूको विशेष उपस्थितिमा बैशाख ६ गते विराटनगर स्थित सनातन धर्म सेवा समितिको सभाहलमा आयोजित परिचयात्मक भेटघाट कार्यक्रममा परिषदका स्थानीय पदाधिकारी, कार्यकर्ता, शुभचिन्तक एवं विभिन्न अनुसांघिक संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मिलिन्द पराण्डेज्यूले ‘नेपाल संवैधानिक रुपमा धर्म निरपेक्ष राष्ट्र लेखिएता पनि साँस्कृतिक रुपमा हिन्दू राष्ट्र नै रहेको’ बताउनु भएको थियो ।

लहानमा आयोजित कार्यक्रम


बैशाख ७ गते विश्व हिन्दू परिषद नेपाल एवं हनुमान अराधना मण्डल नेपालद्वारा लहानमा आयोजित कार्यकर्ता प्रशिक्षण वर्गको उदघाटन सत्रमा बोल्नु हुदै माननीय मिलिन्द पराण्डेज्यूले कार्यकर्ताहरुलाई संगठन कार्य पद्धतिबारे प्रकाश पार्नु भएको थियो । जिल्ला कार्य समिति सिरहाद्वारा आयोजित उक्त प्रशिक्षण वर्गमा करिब १५० जना प्रशिक्षार्थी एवं हनुमान अराधना मण्डल नेपाल तथा विश्व हिन्दू परिषद नेपालका जिल्ला स्तरिय पदाधिकारी र कार्यकर्ताहरु उपस्थित रहनु भएको थियो ।

जनकपुरधाममा आयोजित कार्यक्रम


बैशाख ८ गते विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति धनुषाद्वारा श्रीराम नवमी उत्सव एवं परिषदको ९ औं स्थापना दिवसको अवसरमा विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको थियो । जनकपुरधाम स्थित जानकी पतञ्जली योग साधना केन्द्रको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा मुख्य वक्ताको रुपमा बोल्नु हुदै माननीय मिलिन्द पराण्डेज्यूले धर्मारन्तरण नेपालको लागि गम्भिर खतरा रहेको बताउनु भएको थियो । धर्मान्तरण रोक्न विश्व हिन्दू परिषदले निर्वहन गर्नुपर्ने भूमिका बारे समेत वहाँले चर्चा गर्नु भएको थियो । कार्यक्रममा परिषदका स्थानीय पदाधिकारी, कार्यकर्ता एवं शुभचिन्तक सहित करिब १५० जनाको उपस्थिति रहेको थियो ।


माननीय मिलिन्द पराण्डेज्यूले जनकपुरधाम–७, दशरथ तलाउ स्थित अवध मिथिला ट्रष्टद्वारा निर्माणाधिन धर्मशालाको अवलोकन गर्नुभएको थियो । धर्मशालाको प्राङ्गणमा वहाँद्वारा वृक्षारोपण समेत गरिएको थियो ।

बिरगंजमा आयोजित कार्यक्रम


बैशाख ९ गते विरगंज, आदर्शनगर स्थित जैन भवनको सभाहलमा विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति पर्साद्वारा परिचयात्मक भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । विरगंजका उद्योगी–व्यवसायीहरुलाई विशेष लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मिलिन्द पराण्डेज्यूले धर्म–संस्कृति संरक्षण एवं हिन्दुत्व जागरणमा व्यवसायीहरुको योगदान बारे चर्चा गर्नु भएको    थियो । हिन्दुत्व रक्षार्थ उद्योगी–व्यवसायी बन्धुहरुको साथ र सहयोग अपरिहार्य रहेको वहाँले बताउनु भएको थियो ।

काठमाण्डौमा आयोजित कार्यक्रमहरु
  •  एकल अभियानको राष्ट्रिय टोली बैठक
माननीय मिलिन्द पराण्डेज्यूको नेपाल प्रवासको अवसरपारी बैशाख १० काठमाण्डौ गौरीघाट स्थित केशवधामको सभाहलमा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियानको राष्ट्रिय टोली बैठक आयोजना गरिएको थियो । बैठकमा अभियानका राष्ट्रिय संगठन मन्त्री श्री प्रल्हाद रेग्मी, विकास प्रमुख श्री विरेन्द्र बुढाथोकी, अभियान प्रमुख श्री अरविन्द साह, कार्यकारी अध्यक्ष श्री विनोद पोद्धार, महासचिव श्री महाविर घिराईया, कोषाध्यक्ष श्री सुनिल कुमार अग्रवाल लगायत राष्ट्रिय टोलीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठकमा विविध समसामयिक विषयहरुमा छलफल गरिएको थियो ।
  •  भगवान श्री पशुपतिनाथ दर्शन एवं व्यक्तिगत भेटवार्ता
बैशाख ११ गते प्रातः भगवान श्री पशुपतिनाथ दर्शन पश्चात काठमाण्डौका बरिष्ठ व्यक्तित्वहरु संग व्यक्तिगत भेटवार्ताको क्रम रह्यो ।
  •  विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय बैठक

          बैशाख १२ माननीय मिलिन्द पराण्डेज्यूको विशेष उपस्थितिमा विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय बैठक काठमाण्डौ गौरीघाट स्थित केशवधामको सभाहलमा आयोजना गरिएको थियो । बैठकमा राष्ट्रिय जनगणना २०७८, हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान, जनसंगठन विस्तार, परिषदको नियमित कार्यक्रम लगायतका विविध विषयहरु बारे छलफल भएको थियो ।
  •  विविध संगठन संगको समन्वय बैठक
    
    
बैशाख १२ गते काठमाण्डौ तिलगंगा स्थित आनन्द पशुपति धर्मशालाको सभाहलमा विविध धार्मिक साँस्कृतिक संगठनहरुको सहभागितामा समन्वय बैठक आयोजना गरिएको थियो । उक्त समन्वय बैठकमा करिब ३० वटा धार्मिक साँस्कृति संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भैरहवामा आयोजित कार्यक्रम


बैशाख १३ गते विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति रुपन्देहीले भैरहवा स्थित जयसवाल धर्मशालाको सभाहलमा परिचयात्मक भेटघाट कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम पश्चात परिषदका स्थानीय पदाधिकारी, कार्यकर्ता, शुभचिन्तक एवं विविध अनुसांघिक संगठनका प्रतिनिधिहरुले माननीय मिलिन्द पराण्डेज्यूलाई विदाई गर्नु भएको थियो ।